ललितपुर - वर्षौंदेखि सत्ता, शक्ति र पहुँच हातमा रहेका नेताहरूले आफ्नो कार्यकालभरि जनताका आवाज नसुनेको, समस्या नदेखेको र पीडा नछोएको विकास अचानक चुनाव नजिकिँदै गर्दा मात्रै देखिनु संयोग होइन, यो योजनाबद्ध राजनीतिक ढोंग हो। दक्षिण ललितपुरका नागरिकले आज विकास होइन, विकासको नाममा भइरहेको भोटको व्यापार देखिरहेका छन्।
सत्ता र शक्ति हातमा हुँदा मौन बस्ने, सिंहदरबारको वातानुकूलित कोठामा नीति बनाउने र गाउँको बाटो हिलोमा डुबेको नदेख्ने नेताहरू आज जनताको घरआँगनमा विकासको झण्डा बोकेर आइपुगेका छन्।
बाटो खन्ने, ढल हाल्ने, खानेपानीको पाइप बिछ्याउने, पोल गाड्ने र बोर्ड टाँस्ने काम एकैचोटि सुरु हुँदा स्थानीय अचम्मित मात्र होइन, आक्रोशित पनि छन्। प्रश्न स्पष्ट छ—यो विकास हो कि भोट माग्ने नाङ्गो रणनीति?
दक्षिण ललितपुरका गोटिखेल, मानिखेल, ठुलादुर्लुङ, भट्टेडाँडा, लेले, माल्टा, गिम्दी, प्युटार, नल्लु, आश्राङ, टिकाभैरव, देवीचौरदेखि दुर्गम बस्तीहरू दशकौँदेखि राज्यको उपेक्षामा परेका छन्। यहाँका नागरिकले हिउँदमा धुलो र वर्षामा हिलो सहँदै यात्रा गर्नुपर्छ। नियमित र भरपर्दो यातायात अझै सपना नै छ। बिरामी परे एम्बुलेन्स बोलाउन घण्टौँ लाग्छ, कतिपय ठाउँमा त फोन सिग्नलसमेत भरपर्दो छैन। गुणस्तरीय विद्यालयको अभाव, स्वास्थ्य चौकीमा चिकित्सक नबस्ने समस्या, सुरक्षित खानेपानी नपाएर रोगसँग लड्नुपरेको यथार्थ कुनै नेताका भाषणमा कहिल्यै प्राथमिकतामा परेन।
यी समस्या नयाँ होइनन्। हरेक चुनावमा यही पीडा, यही आश्वासन र यही निराशा दोहोरिँदै आएको छ। नेताहरू बदलिन्छन्, पार्टीका झण्डा फेरिन्छन्, तर दक्षिण ललितपुरको अवस्था उस्तै रहन्छ। पाँच वर्षे कार्यकाल पूरा हुँदा न नागरिकसँग जवाफदेहिता देखिन्छ, न त अधुरा योजनाको जिम्मेवारी। चुनाव आउँदा फेरि उही नेताहरू ‘हामीले विकास गर्यौँ’ भन्दै अधुरा सडक र आधा खनिएका नाली देखाएर मत माग्न आउँछन्।
सत्ता र शक्ति हातमा हुँदा विकास किन भएन? यो प्रश्न अब केवल गुनासो होइन, आरोप बनेको छ। स्थानीयको भनाइमा प्रतिनिधि बनेपछि जनताभन्दा दल र नेताको चाकडी प्राथमिकतामा पर्छ। बजेट योजना कागजमै सीमित हुन्छ, ठेक्का दलाल र पहुँचवालाको हातमा पुग्छ, र काम गुणस्तरहीन भएर अलपत्र पर्छ। अनुगमन गर्ने निकाय मौन बस्छ, भ्रष्टाचार खुलेआम हुन्छ, तर जिम्मेवारी कसैले लिँदैन।
अहिले देखिएको विकासको अवस्था पनि निराशाजनक छ। कतिपय ठाउँमा सडक खनिएको छ तर निकासको व्यवस्था छैन। ढल हाल्ने नाममा बाटो भत्काइएको छ तर मर्मत अधुरै छ। खानेपानीका पाइप बिछ्याइएका छन् तर पानी कहिले आउने हो भन्ने निश्चित छैन। स्थानीयको दैनिकी झन् कष्टकर बनेको छ। यो विकास जनताको जीवन सहज बनाउन होइन, चुनावी फोटो खिच्न र भाषणमा देखाउनका लागि गरिएको आरोप व्यापक छ।
विकास निरन्तर प्रक्रिया हो, चुनावी मौसमको सजावट होइन। तर दक्षिण ललितपुरमा विकासलाई सधैं चुनावसँग मात्र जोडिएको देखिन्छ। सत्ता पाएको दिनदेखि जनताका समस्या समाधान गर्नुपर्ने दायित्व बिर्सेर चुनाव नजिकिँदा मात्र सक्रिय हुने प्रवृत्तिले नागरिकको विश्वास पूर्ण रूपमा गुम्दै गएको छ। अब जनता प्रश्न गर्छन्—चुनाव सकिएपछि यो विकास कहाँ जान्छ?
दक्षिण ललितपुरको अवस्था कहिले सुध्रने? यसको उत्तर ठूला भाषण र मीठा नारामा छैन। यसको उत्तर इमानदार नेतृत्व, दीर्घकालीन योजना, पारदर्शी बजेट खर्च र कडा अनुगमनमा छ। स्थानीय आवश्यकताका आधारमा योजना बनाउने, जनताको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्ने र काम नगर्ने प्रतिनिधिलाई राजनीतिक रूपमा दण्डित गर्ने संस्कार बसाल्न सके मात्र परिवर्तन सम्भव छ।
अब जनता पनि मौन बस्ने अवस्थामा छैनन्। ‘चुनावी विकास’ भन्दा ‘दिगो विकास’ चाहिन्छ भन्ने आवाज गाउँ–गाउँमा उठ्न थालेको छ। दक्षिण ललितपुर कुनै प्रयोगशाला होइन, जहाँ हरेक पाँच वर्षमा विकासको नाटक मञ्चन गरियोस्। यहाँ बस्ने नागरिक पनि समान अधिकार र सम्मानका हकदार हुन्।
यदि अझै पनि विकासलाई भोटसँग साटासाट गर्ने प्रवृत्ति रोकिएन भने इतिहासले नेताहरूलाई कठोर रूपमा मूल्याङ्कन गर्नेछ। चुनावको बेला देखिने विकासभन्दा सत्ता पाएको दिनदेखि देखिने इमानदारी र जिम्मेवारी नै साँचो विकासको आधार हो। अन्यथा, अर्को चुनावमा पनि यही शीर्षक दोहोरिनेछ—तीस वर्षसम्म नदेखिएको विकास फेरि चुनावकै मुखमा देखियो।