ललितपुर -बागमती गाउँपालिकामा विद्यालय केन्द्रित ह्युमन प्यामिलोमा भाइरस (एचपीभी) विरुद्धको खोप अभियान सुरु हुने भएको छ। महिलामा पाठेघरको मुखको क्यान्सर (सर्भाइकल क्यान्सर) जस्ता गम्भीर रोगको जोखिम न्यूनिकरण गर्ने उद्देश्यले यो अभियान सञ्चालन गर्न लागिएको हो। गाउँपालिकाको स्वास्थ्य शाखाको संयोजनमा माघ २५, २६ र २७ गते पालिकाभरि खोप कार्यक्रम सञ्चालन गरिने तयारी पूरा भएको छ।
स्वास्थ्य शाखाका अनुसार गाउँपालिकाका सातै वडामा रहेका १३ वटा विद्यालयलाई केन्द्र बनाएर खोप कार्यक्रम सञ्चालन गरिनेछ। यस अभियान अन्तर्गत करिब १२२ जना किशोरी विद्यार्थीलाई निःशुल्क रूपमा एचपीभी खोप प्रदान गरिने जनाइएको छ। लक्षित समूहमा पर्ने विद्यार्थीको पहिचान विद्यालयमार्फत गरिसकिएको र खोप लगाउने सम्पूर्ण प्रक्रिया सुरक्षित र व्यवस्थित ढंगले सञ्चालन गरिने स्वास्थ्य शाखाले जनाएको छ।
एचपीभी खोप पाठेघरको मुखको क्यान्सरको मुख्य कारण मानिने ह्युमन प्यापिलोमा भाइरसबाट बचाउने प्रभावकारी उपायका रूपमा लिइन्छ। स्वास्थ्य विज्ञहरूका अनुसार समयमै एचपीभी खोप लगाएमा वा नियमित परीक्षण गराएमा क्यान्सर हुने सम्भावना तथा जटिलता अत्यन्त न्यून हुन्छ। यही तथ्यलाई मध्यनजर गर्दै विद्यालय उमेरका किशोरीहरूलाई लक्षित गरी खोप अभियान सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ।
गाउँपालिकाले अभिभावक, विद्यालय प्रशासन र समुदायलाई अभियान सफल बनाउन सहयोग गर्न आग्रह गरेको छ। खोपको विषयमा फैलिने भ्रम र गलत सूचनाबाट प्रभावित नहुन समेत स्वास्थ्य शाखाले अनुरोध गरेको छ। एचपीभी खोप विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले समेत सिफारिस गरेको सुरक्षित र प्रभावकारी खोप भएको जनाइएको छ।
खोप कार्यक्रम सञ्चालनका लागि आवश्यक जनशक्ति, खोप सामग्री र स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरिएको स्वास्थ्य शाखाका प्रमुखले जानकारी दिए। उनका अनुसार खोप लगाउँदा सामान्य ज्वरो, हात दुख्ने जस्ता हल्का असर देखिन सक्ने भए पनि यसले दीर्घकालीन रूपमा गम्भीर रोगबाट जोगाउने भएकाले नआत्तिन अनुरोध गरिएको छ।
स्थानीय तहले विद्यालय केन्द्रित कार्यक्रममार्फत स्वास्थ्य सचेतना बढाउँदै रोग निवारणमा जोड दिन थालेको भन्दै स्थानीय बासिन्दाले यस पहललाई सकारात्मक रूपमा लिएका छन्। बागमती गाउँपालिकाले आगामी दिनमा पनि महिला तथा बालस्वास्थ्यसँग सम्बन्धित कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।
यस अभियानले पाठेघरको मुखको क्यान्सर न्यूनीकरणमा दीर्घकालीन योगदान पुर्याउने विश्वास लिइएको छ।
