ललितपुर - बागमती गाउँपालिकाका उपाध्यक्ष भक्त बहादुर दर्लामीको सक्रियतामा उत्कृष्ट विद्यार्थी सम्मान तथा विद्यालयस्तरीय खेलकुद सामग्री वितरण कार्यक्रम सम्पन्न भएको छ। गाउँपालिकाभित्रको शैक्षिक गुणस्तर अभिवृद्धि र विद्यार्थीलाई थप प्रोत्साहन गर्ने उद्देश्यले आयोजित कार्यक्रममा उच्च शिक्षा (+२) तहमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी तथा विषयगत शिक्षक–शिक्षिकालाई सम्मान गरिएको हो।
कार्यक्रमअन्तर्गत बागमती गाउँपालिका–४ स्थित कालीदेवी माध्यमिक विद्यालय प्युटार र कालीदेवी माध्यमिक विद्यालय माल्टाबाट उच्च शिक्षा (+२) मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई सम्मानपत्रसहित सम्मान गरिएको थियो। साथै उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने विषयगत शिक्षक–शिक्षिकालाई पनि कदरपत्र प्रदान गरिएको आयोजकले जनाएको छ।

त्यसैगरी गाउँपालिकाभित्र सञ्चालनमा रहेका विभिन्न विद्यालयका बाल क्लबहरूलाई खेलकुद सामग्री वितरण गरिएको छ। खेलकुदमार्फत विद्यार्थीहरूको शारीरिक, मानसिक तथा नेतृत्व विकासमा टेवा पुग्ने विश्वासका साथ सामग्री हस्तान्तरण गरिएको उपाध्यक्ष दर्लामीले बताए। उनले शिक्षासँगै अतिरिक्त क्रियाकलापलाई पनि समान महत्व दिनुपर्ने धारणा व्यक्त गर्दै विद्यालयहरूमा सकारात्मक प्रतिस्पर्धा र सिर्जनात्मक वातावरण निर्माण गर्न गाउँपालिकाले निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाए।

उपाध्यक्ष दर्लामीको पहल र सक्रियतामा सञ्चालन गरिएका शैक्षिक कार्यक्रमहरूले गाउँपालिकाभित्र शिक्षा क्षेत्रमा उत्साहजनक सुधार देखिन थालेको स्थानीयले बताएका छन्। विद्यालयहरूको नतिजामा सुधार आउनुका साथै विद्यार्थी र शिक्षकहरूमा थप जिम्मेवारी तथा हौसला बढेको सरोकारवालाहरूको भनाइ छ।

कार्यक्रममा गाउँपालिका शिक्षा शाखा प्रमुख,जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति, शिक्षक, विद्यार्थी तथा अभिभावकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले यस्ता कार्यक्रमले शैक्षिक वातावरणलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरेका छन्।
