ललितपुर - बागमती गाउँपालिका–३ भट्टेडाँडा (साविक २ र ३ नं वडा) अन्तर्गत झाक्रीडाँडादेखि माहाङ्कालखोल्सा सडक वर्षासँगै आएको बाढी र पहिरोका कारण अस्तव्यस्त बनेको छ। सडकमा भएको क्षतिले स्थानीयको दैनिक आवतजावत प्रभावित बनेको छ भने आसपासका बस्तीसमेत जोखिमको छायामा परेको छ।
लगातारको वर्षाका कारण सडकका विभिन्न स्थानमा पहिरो खसेको छ, सडक कटान भएको छ र यातायात सञ्चालनसमेत कठिन बनेको स्थानीयले बताएका छन्। ग्रामीण क्षेत्रका नागरिकको जीवनरेखाका रूपमा रहेको यो सडक अहिले वर्षाको समयमा जोखिमपूर्ण मार्गमा परिणत भएको छ।

स्थानीयका अनुसार झाक्रीडाँडा–माहाङकाल्खोल्सा सडक वर्षेनी वर्षायाममा समस्या दोहोरिने गरेको छ। सामान्य वर्षामै सडक अवरुद्ध हुने, पहिरो खस्ने र हिलोका कारण आवतजावत गर्न समस्या हुने गरे पनि यसको स्थायी समाधानका लागि प्रभावकारी पहल हुन नसकेको उनीहरूको गुनासो छ।
“हामीले वर्षौंदेखि यही समस्या भोग्दै आएका छौँ। सडक बिग्रिँदा बिरामीलाई अस्पताल लैजान, विद्यार्थीलाई विद्यालय पठाउन र दैनिक कामका लागि हिँडडुल गर्न समेत समस्या हुन्छ। तर दीर्घकालीन समाधानतर्फ पर्याप्त ध्यान गएको छैन,” एक स्थानीयवासीले बताए।

वर्षाको पानीको उचित व्यवस्थापन नहुँदा सडक थप कमजोर बन्दै गएको छ। कतिपय स्थानमा पहिरोले सडकको संरचना नै कमजोर बनाएको छ भने नजिकका घरबस्तीमा समेत जोखिम बढेको स्थानीयको भनाइ छ। समयमै पहिरो नियन्त्रण र सडक संरक्षणको काम नगरिए आगामी दिनमा ठूलो क्षति हुन सक्ने उनीहरूले चिन्ता व्यक्त गरेका छन्।
स्थानीयवासीले बागमती गाउँपालिकाले प्रभावित क्षेत्रको तत्काल अनुगमन गरी आपत्कालीन रूपमा सडक सञ्चालनको व्यवस्था गर्न र दीर्घकालीन रूपमा सुरक्षित सडक निर्माणको योजना अघि बढाउन माग गरेका छन्।
उनीहरूको भनाइमा विकास निर्माणका योजना बनाउँदा केवल सडक विस्तारमा मात्र नभई भू–बनोट, जोखिम क्षेत्र र दीर्घकालीन सुरक्षालाई समेत प्राथमिकतामा राख्न आवश्यक छ।

स्थानीय सरकार जनताको नजिकको सरकार भए पनि भट्टेडाँडाको यस महत्वपूर्ण सडक समस्यामा अपेक्षित ध्यान नपुगेको स्थानीयको गुनासो छ। वर्षा सुरु भएपछि मात्र मर्मत गर्ने परम्पराको अन्त्य गरी स्थायी समाधान खोज्नुपर्ने उनीहरूको माग छ।
झाक्रीडाँडा–महाङ्कालखोल्सा सडक अहिले स्थानीयको आवतजावतको समस्या मात्र नभई सुरक्षा र जीवनयापनसँग जोडिएको गम्भीर विषय बनेको छ। समयमै प्रभावकारी कदम चाल्न नसकिए वर्षाको जोखिमसँगै दुर्घटनाको सम्भावना समेत बढ्ने देखिएको छ।