ललितपुर - ११६औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर ललितपुरको कोन्ज्योसोम गाउँपालिका–३ अन्तर्गत दल्चोकीको सिलिङेबेसीमा निःशुल्क महिला स्वास्थ्य शिविर सम्पन्न भएको छ। “विदेशमा बसेका नेपालीको योगदान, स्वदेशको स्वास्थ्यको उत्थान” भन्ने नारासहित फागुन २४ गते आइतबार ज्ञानज्योति आधारभूत विद्यालयको प्राङ्गणमा उक्त स्वास्थ्य शिविर आयोजना गरिएको हो।
एनआरएनए मेडिहेल्थ सेन्टर (NRNA MediHealth Center) को आयोजनामा सम्पन्न शिविरमा पाटन अस्पतालका वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाही, वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. बिभूति शाही, चिकित्सक डा. बिपिन पौडेल र डा. गरिमा गिरिले स्वास्थ्य परीक्षण तथा आवश्यक परामर्श सेवा प्रदान गरेका थिए। ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवा सहज रूपमा नपुग्ने अवस्थालाई ध्यानमा राख्दै आयोजना गरिएको शिविरबाट स्थानीय महिलाले विशेष लाभ लिएको आयोजकले बताएका छन्।
शिविरमा दल्चोकी तथा आसपासका क्षेत्रका महिलाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। विशेषगरी महिलासम्बन्धी रोग, स्त्रीरोग समस्या, क्यान्सर जाँच, रक्तचाप, मधुमेह लगायतका स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्रदान गरिएको थियो। आयोजकका अनुसार उक्त शिविरबाट ६८ जनाले स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्राप्त गरेका छन्।
नगरकोटी बस्तीकी स्थानीय स्वास्थ्य स्वयंसेविका मिना नगरकोटीले यस्ता स्वास्थ्य शिविरले ग्रामीण महिलामा स्वास्थ्यसम्बन्धी चेतना बढाउन महत्वपूर्ण भूमिका खेल्ने बताइन्। उनले भनिन्, “यस्ता कार्यक्रमले महिलालाई आफ्ना स्वास्थ्य समस्याबारे खुला रूपमा जानकारी लिन र समयमै उपचार गर्न प्रेरित गर्छ। यस्ता शिविरलाई निरन्तरता दिन जरुरी छ।”
त्यस्तै घलानटोलकी वृद्धा माइली घलानले पनि शिविरबाट आफूले रक्तचाप, मधुमेह लगायत स्वास्थ्य समस्याबारे परामर्श पाएको बताइन्। गाउँमै विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य जाँच गराउने अवसर पाउनु स्थानीयका लागि निकै उपयोगी भएको उनको भनाइ थियो।
स्थानीय आयोजक मखमली महिला कृषि सहकारी संस्था दल्चोकीकी अध्यक्ष नानिमैयाँ मगरका अनुसार शिविरमा कोन्ज्योसोम गाउँपालिकाका चौघरे, सिरुडाँडा, क्वाकलिङ, दल्चोकी लगायतका विभिन्न गाउँबाट पनि सेवाग्राहीहरू आएका थिए। ग्रामीण क्षेत्रका महिलालाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले यस्तो कार्यक्रम आयोजना गरिएको उनले जानकारी दिइन्।
बाढीका कारण क्षतिग्रस्त भएर खण्डहर जस्तै बनेको विद्यालयको प्राङ्गणमा स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो। ज्ञानज्योति आधारभूत विद्यालयकी शिक्षिका मिरा घलानका अनुसार कठिन अवस्थाका बीच पनि सञ्चालन गरिएको शिविरले महिला स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।
कार्यक्रमको स्थानीय व्यवस्थापन देउराली फाउण्डेशन, श्री मखमली महिला कृषि सहकारी संस्था दल्चोकी, ज्ञानज्योति आधारभूत विद्यालय दल्चोकी तथा तामाङ पत्रकार संघ ललितपुरले संयुक्त रूपमा गरेका थिए। आयोजकका अनुसार यस्ता स्वास्थ्य शिविरले विशेषगरी ग्रामीण तथा दुर्गम क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
स्थानीयवासीले पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइए ग्रामीण क्षेत्रका महिलाले अझ बढी लाभ लिन सक्ने विश्वास व्यक्त गरेका छन्।