ललितपुर - महिनावारी स्वच्छता र पुनः प्रयोग गर्न सकिने प्याड बनाउने उद्देश्यले आयोजित तीन दिने तालिम बागमती गाउँपालिकाको विभिन्न वडामा सम्पन्न भएको छ। गत मङ्सिर २३ गतेदेखि सुरु भएको तालिम २५ गते सम्पन्न भएको हो। उक्त तालिम परिवर्तनको लागि सहकार्य नेपालले बागमती गाउँपालिका ललितपुरको सहकार्यमा आयोजना गरेको थियो।
तालिम बागमती गाउँपालिकाको वडा नं ४ प्युटार, वडा नं ६ आश्राङ र वडा नं ७ गिम्दिमा सञ्चालन गरिएको थियो। तीन दिनसम्म चलेको यस कार्यक्रमले स्थानीय महिला तथा किशोरीहरूलाई महिनावारी स्वच्छताको महत्त्व र पुनः प्रयोग गर्न सकिने प्याड निर्माण गर्ने सीप प्रदान गरिएको थियो। तालिमको मुख्य उद्देश्य महिलाहरूलाई स्वावलम्बी बनाउँदै महिनावारी सम्बन्धी विभेदको अन्त्य गर्न उत्प्रेरित गर्नु थियो।
तालिमको अन्तिम दिन भने किशोर र युवाहरूलाई लक्षित गरी विशेष अन्तर्क्रिया गरिएको थियो। यो अन्तर्क्रियामा महिनावारी विभेद, बालविवाहका कारण, यौन र प्रजनन स्वास्थ्य जस्ता महत्त्वपूर्ण विषयहरूमा जानकारी गराइयो। सहभागीले यस्ता विषयमा खुलेर छलफल गर्ने अवसर पाएका थिए।
कार्यक्रममा सहभागीहरूले मासिक धर्म सम्बन्धी सरसफाइ र सजगताको महत्त्वमाथि जोड दिँदै यस्ता तालिमलाई नियमित रूपमा सञ्चालन गर्न आग्रह गरे। आयोजक संस्थाका प्रतिनिधिहरूले पनि महिलाहरूको सशक्तीकरण र समुदायमा सकारात्मक परिवर्तन ल्याउन भविष्यमा यस्तै कार्यक्रम गर्दै जाने प्रतिबद्धता जनाएका छन्।
थप फोटो हेर्नुहोस!







