ललितपुर - नेपाल कम्युनिस्ट पार्टी (माओवादी) बाट ललितपुर क्षेत्र नम्बर १ मा भिमसेन घिमिरे ‘विपिन’ चुनावी मैदानमा होमिएका छन। दक्षिण ललितपुरको भूगोल बुझेको, माटो सुहाउँदो र स्थानीय जनजीवनसँग घुलमिल भएको नेतृत्व आवश्यक रहेको तर्क चलिरहेको अवस्थामा घिमिरेको उमेदवारिले खास अर्थ राख्ने स्थानीय हरुको बुझाई देखिन्छ।
दक्षिण ललितपुरको विकट भू–परिवेश, कृषि सम्भावना, पर्यटन पूर्वाधारको अभाव र बेरोजगार युवाको बढ्दो संख्या जस्ता मुद्दालाई केन्द्रमा राख्दै घिमिरेले स्पष्ट स्थानीय एजेन्डा सार्वजनिक गरेका छन्। उनका अनुसार दक्षिण ललितपुरलाई आत्मनिर्भर आर्थिक क्षेत्रका रूपमा विकास गर्न “बहु–विशेषतासहितको एकीकृत औद्योगिक ग्राम” स्थापना गरिने मेघा अवधारणा अघि सारिएको छ। यस अवधारणाअन्तर्गत कृषि उत्पादन, जडीबुटी प्रशोधन, दुग्ध तथा मासुजन्य उद्योग, हस्तकला र घरेलु उद्योगलाई एउटै संरचनाभित्र समेटेर रोजगारी सिर्जना गरिने लक्ष्य राखिएको छ।
युवा तथा विद्यार्थीलाई लक्षित गर्दै उद्यमशीलता र रोजगारमूलक परियोजना विकासमा विशेष जोड दिइने उनको प्रतिबद्धता छ। प्राविधिक तालिम, सहुलियत ऋण र बजार व्यवस्थापनको समन्वयमार्फत स्थानीय युवालाई विदेश पलायन हुनबाट रोक्ने योजना रहेको बताइएको छ। साथै सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार, प्राविधिक तथा व्यवहारिक शिक्षाको विस्तार र स्वास्थ्य बिमाको दायरा वृद्धि गर्न नीतिगत पहल गरिने एजेन्डा पनि उनले अघि सारेका छन्।
कृषि र पशुपालनलाई व्यावसायिकरण र बजारीकरणसँग जोड्न स्थानीय सरकारले नै जिम्मेवारी लिने गरी नीति निर्माण गरिने प्रस्ताव गरिएको छ। किसानले उत्पादन गरेको वस्तुको न्यूनतम मूल्य सुनिश्चित गर्न, चिस्यान केन्द्र र संकलन केन्द्र स्थापना गर्न तथा सहकारीमार्फत बजार पहुँच विस्तार गर्न पहल गरिने उनको भनाइ छ।
दक्षिण ललितपुरलाई अलग निर्वाचन क्षेत्र र छुट्टै पालिका बनाउने अभियानलाई समेत उनले राजनीतिक मुद्दाका रूपमा उठाएका छन्। भौगोलिक विकटता र प्रशासनिक पहुँचको समस्याका कारण स्थानीयले पाउने सेवा प्रभावकारी नभएको भन्दै प्रशासनिक पुनर्संरचनाको बहस आवश्यक रहेको घिमिरेको तर्क छ।
सहकारी क्षेत्रका समस्या र वित्तीय शोषण अन्त्य गर्न कडा नीतिगत तथा व्यवहारिक सुधार गरिने प्रतिबद्धता व्यक्त गरिएको छ। पीडित बचतकर्ताको रकम फिर्ता सुनिश्चित गर्न कानुनी र संस्थागत संयन्त्र बलियो बनाइने योजना सार्वजनिक गरिएको छ।
त्यस्तै गोदावरी नगरपालिका लाई गाउँपालिका र महानगरपालिकालाई जोड्ने रणनीतिक संगमस्थलका रूपमा विकास गर्ने अवधारणा पनि अघि सारिएको छ। सडक सञ्जाल विस्तार, पर्यटन पूर्वाधार विकास, धार्मिक तथा पर्यावरणीय पर्यटन प्रवर्द्धनमार्फत दक्षिण ललितपुरलाई आर्थिक दृष्टिले चलायमान बनाउने लक्ष्य राखिएको छ।
सूचना प्रविधिको युगसँगै आइटी कलेज स्थापना, डिजिटल व्यवसाय प्रवर्द्धन र स्थानीय स्तरमै स्टार्टअप इकोसिस्टम विकास गर्ने पहल पनि उनको घोषणापत्रको महत्वपूर्ण पक्ष बनेको छ।
स्थानीय मुद्दा, स्थानीय नेतृत्व र दीर्घकालीन विकास दृष्टिकोणसहित अघि सारिएको भिमसेन घिमिरे ‘विपिन’ को उम्मेदवारीले दक्षिण ललितपुरको राजनीतिक समीकरणमा नयाँ बहस र अपेक्षा सिर्जना गरेको छ। अब मतदाताले विकासका यी एजेन्डालाई कसरी मूल्याङ्कन गर्छन् भन्नेमा आगामी चुनावी परिणाम निर्भर रहने देखिन्छ।