ललितपुर - नेपाली राजनीतिमा लामो समयदेखि कांग्रेस–कम्युनिस्टको पक्कड क्षेत्रका रूपमा चिनिँदै आएको निर्वाचन क्षेत्र ललितपुर -१ हो। दशकौँदेखि यही दुई राजनीतिक धारले यहाँको राजनीतिक शक्ति सन्तुलन निर्धारण गर्दै आएका थिए। तर यस पटकको निर्वाचन परिणामले भने त्यो परम्परागत राजनीतिक समीकरणलाई भत्काइदिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बुद्ध रत्न महर्जन भारी मतान्तरसहित विजयी भएपछि दक्षिण ललितपुरको राजनीतिक धरातलमा नयाँ तरंग पैदा भएको छ। यो विजय केवल एक व्यक्तिको जित मात्र होइन, पुराना दलप्रति बढ्दै गएको असन्तोष, निराशा र परिवर्तनको खोजीको प्रतिफलका रूपमा हेरिएको छ। वर्षौंदेखि पार्टीभित्र पेलानमा परेका, अवसर नपाएका तथा नेतृत्वप्रति असन्तुष्ट भएका नेता–कार्यकर्तासमेत यस पटक खुला रूपमा नयाँ शक्तिको पक्षमा उभिएको देखियो। यसले पुराना राजनीतिक दलहरूको जरा गहिरो भए पनि जनताको मनोविज्ञान परिवर्तनको दिशातर्फ मोडिएको संकेत गरेको छ।
यस निर्वाचन परिणामको अर्को महत्वपूर्ण पक्ष भनेको मतदाताको मनोविज्ञान हो। कतिपय मतदाताले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरका पुर्व मेयर बालेन्द्र शाह (बालेन) को लोकप्रिय छविबाट प्रभावित भएर मतदान गरेको चर्चा पनि व्यापक छ। राजनीतिक विश्लेषकहरू भन्छन्, “कसै–कसैले त आफ्नो क्षेत्रबाट निर्वाचित सांसद को हो भन्ने समेत स्पष्ट जानकारी नराखी परिवर्तनको नाममा मत दिएका छन्।” यो प्रवृत्ति एकातिर परिवर्तनको चाहनाको प्रतीक भए पनि अर्कोतर्फ भावनात्मक लहरको संकेत पनि हो। यही कारण अहिले ललितपुर क्षेत्र–१ मा एउटा गम्भीर प्रश्न उठ्न थालेको छ—बुद्ध रत्न महर्जनले अब सुशासनको ठोस उदाहरण प्रस्तुत गर्नेछन् कि पपुलिजमको लहरमै सीमित हुनेछन् ?
ललितपुर क्षेत्र–१ विकासविहीन क्षेत्र भने होइन। विगतमा पनि केही भौतिक पूर्वाधार निर्माण भएका छन्, सडक सञ्जाल विस्तार भएको छ, शिक्षा र स्वास्थ्य क्षेत्रमा पनि केही सुधारका प्रयास भएका छन्। तर तुलनात्मक रूपमा हेर्दा यहाँको विकास अपेक्षित गतिमा अघि बढ्न सकेको छैन भन्ने गुनासो स्थानीय स्तरमा व्यापक छ। विशेष गरी राष्ट्रिय राजमार्गदेखि सहायक सडक सञ्जालसम्मको व्यवस्थापन, वर्षायाममा हुने सडक क्षति, पहिरो र आवागमन अवरुद्ध हुने समस्या यहाँका बासिन्दाले हरेक वर्ष भोग्दै आएका पीडा हुन्। वर्षात् सुरु भएलगत्तै कतिपय गाउँ बस्तीहरू सडक सञ्जालबाट टुट्ने अवस्था आउँछ। यही समस्यालाई कसरी समाधान गर्ने भन्ने प्रश्न अहिले निर्वाचित सांसद महर्जनको अगाडि सबैभन्दा ठूलो चुनौतीका रूपमा उभिएको छ।
दक्षिण ललितपुरको अर्को गम्भीर समस्या भनेको खाली हुँदै गएका बस्ती र खण्डहर बन्दै गएको खेतियोग्य जमिन हो। वैदेशिक रोजगारीको आकर्षण, शहरतर्फको बसाइँसराइ र कृषि पेशाप्रतिको निराशाले गर्दा धेरै गाउँहरू बिस्तारै सुनसान बन्दै गएका छन्। कुनै समय हरियालीले भरिएका खेतबारी अहिले बाँझो अवस्थामा छन्। उत्पादनमूलक कृषि प्रणालीको अभाव, बजार व्यवस्थापनको कमजोरी र युवाहरूको पलायनले गर्दा कृषि क्षेत्र संकटमा परेको छ। यस्तो अवस्थामा स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने, कृषि तथा पशुपालनलाई आधुनिक बनाउने र कृषि उत्पादनलाई बजारसँग जोड्ने स्पष्ट योजना बिना ग्रामीण अर्थतन्त्रलाई जोगाउन सम्भव छैन। अब प्रश्न उठ्छ—बुद्ध रत्न महर्जनले यो चुनौतीलाई कसरी सम्बोधन गर्लान ?
शिक्षा र स्वास्थ्य क्षेत्र पनि उत्तिकै संवेदनशील विषय हुन्। ललितपुर क्षेत्र–१ का धेरै सामुदायिक विद्यालयहरूमा शैक्षिक गुणस्तर खस्किएको गुनासो बढ्दो छ। निजी विद्यालयतर्फ विद्यार्थीको आकर्षण बढ्दै जाँदा सामुदायिक विद्यालयहरू कमजोर हुँदै गएका छन्। शिक्षक अभाव, भौतिक पूर्वाधारको कमी र व्यवस्थापनमा देखिएको कमजोरीका कारण ग्रामीण क्षेत्रमा गुणस्तरीय शिक्षा अझै चुनौतीपूर्ण बनेको छ। स्वास्थ्य सेवाको अवस्था पनि सन्तोषजनक छैन। सामान्य स्वास्थ्य सेवा लिनसमेत कतिपय नागरिकलाई लामो दूरी पार गर्नुपर्ने बाध्यता छ। स्वास्थ्य चौकीहरूमा पर्याप्त जनशक्ति र उपकरणको अभाव रहेको गुनासो स्थानीय स्तरमा बारम्बार उठ्ने गरेको छ।
पर्यटन क्षेत्रको सम्भावना पनि दक्षिण ललितपुरमा प्रशस्त छ। प्राकृतिक सुन्दरता, सांस्कृतिक सम्पदा र ग्रामीण जीवनशैलीले यो क्षेत्रलाई पर्यटनको दृष्टिले अत्यन्त आकर्षक बनाउने क्षमता राख्छ। तर उचित योजना र पूर्वाधारको अभावमा ती सम्भावनाहरू अझै उपयोग हुन सकेका छैनन्। यदि पर्यटनलाई व्यवस्थित ढंगले विकास गर्न सकियो भने स्थानीय अर्थतन्त्रमा ठूलो परिवर्तन ल्याउन सकिने सम्भावना छ। होमस्टे, कृषि पर्यटन, पदयात्रा मार्ग तथा सांस्कृतिक पर्यटनलाई जोडेर दीर्घकालीन योजना बनाइयो भने यो क्षेत्र आर्थिक रूपमा सबल बन्न सक्छ।
यही कारण अहिले दक्षिण ललितपुरमा एउटा गम्भीर बहस सुरु भएको छ—नयाँ राजनीतिक शक्तिको उदयले वास्तवमै परिवर्तन ल्याउनेछ कि केवल लोकप्रिय नारामै सीमित रहनेछ ? जनताले परिवर्तनको आशामा मतदान गरेका छन्, तर त्यो आशालाई व्यवहारमा रूपान्तरण गर्न सक्नु नै अबको वास्तविक परीक्षा हुनेछ। बुद्ध रत्न महर्जन अहिले जनताको आशा, अपेक्षा र दबाबको केन्द्रमा छन्। चुनाव जित्नु एउटा उपलब्धि हो, तर जनताको विश्वासलाई विकास र सुशासनमा रूपान्तरण गर्नु नै साँचो सफलता हुनेछ।
ललितपुर क्षेत्र–१ का नागरिकहरू अहिले प्रतीक्षामा छन्—नयाँ सांसदले भाषणभन्दा कामलाई प्राथमिकता दिनेछन् कि राजनीतिक लोकप्रियताको लहरमै रमाउनेछन् ? समयले छिट्टै यसको उत्तर दिनेछ। तर यति भने निश्चित छ, दक्षिण ललितपुरको भविष्य अब सुशासन र परिणाममुखी नेतृत्वको परीक्षा मैदान बनेको छ।