ललितपुर -दक्षिण ललितपुरको ग्रामीण भूगोलमा हालै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपस्थितिले अपेक्षित उत्साहभन्दा बढी आलोचना खेप्नुपरेको छ। बिना स्पष्ट एजेन्डा, स्थानीय आवश्यकता र भूगोलको गहिरो अध्ययन नगरी गाउँ प्रवेश गर्दा ‘घण्टि’ चिन्हलाई नै सकस भएको स्थानीय विश्लेषकहरूको भनाइ छ।
राजनीतिक चेतना बढ्दै गएको दक्षिण ललितपुरका बासिन्दा अब नाराभन्दा काम खोजिरहेका छन्। तर रास्वपाको पछिल्लो गतिविधि हेर्दा पुरानै पार्टीहरूको शैलीको सिको गरेको आरोप लाग्न थालेको छ। स्थानीय समस्या, पूर्वाधार, शिक्षा, स्वास्थ्य, रोजगारी जस्ता मुद्दामा स्पष्ट धारणा नआउँदा पार्टीप्रति आशा राखेका मतदातामै अन्योल देखिएको छ।
विशेष गरी दक्षिण ललितपुरको जटिल भूगोल—पहाडी बस्ती, दुर्गम वडाहरू, सडक सञ्जालको अभाव र कृषिमा निर्भर जनजीवन—बुझ्न नसकी गरिएका कार्यक्रमहरूले सामाजिक सञ्जालमा पार्टीलाई ट्रोलको सिकार बनाएको छ। “काठमाडौँ केन्द्रित भाषण गाउँमा आएर ठोक्किँदा उल्टै पार्टीकै कमजोरी देखियो,” एक स्थानीय युवा बताउँछन्।
अझ चर्को आलोचना त रास्वपाले बोल्नका लागि पूर्व सञ्चार मन्त्रीलाई अगाडि सारेको आरोपपछि भएको छ। ‘पुराना अनुहार नल्याउने’ र ‘नयाँ राजनीतिक संस्कार’को नारा बोकेको पार्टीले नै पुरानो सत्ता संरचनामा बसेका व्यक्तिलाई प्रयोग गर्नु विरोधाभासपूर्ण भएको टिप्पणी भइरहेका छन्। सामाजिक सञ्जालमा “पुरानै पात्र, नयाँ खोल” भन्ने टिप्पणीहरू व्यापक रूपमा फैलिएका छन्।
राजनीतिक विश्लेषकहरू भन्छन्—रास्वपाको मुख्य चुनौती नै यही हो। परिवर्तनको भाष्य बोकेर आएका कारण पार्टीमाथि अपेक्षा पनि धेरै छन्। तर व्यवहारमा पुरानै पार्टीहरूको जस्तै भीड जम्मा गर्ने, चर्चित अनुहार अगाडि सार्ने र स्थानीय एजेन्डा बेवास्ता गर्ने शैली दोहोरिएमा पार्टीको विश्वसनीयतामै प्रश्न उठ्नेछ।
दक्षिण ललितपुरका मतदाताहरू अब भावनामा होइन, तथ्य र कार्ययोजनामा विश्वास गर्न चाहन्छन्। “हामीलाई कसले बोलेको होइन, कसले बुझेको हो भन्ने चाहिएको हो,” भट्टेडाँडाका एक स्थानीय कृषक भन्छन्।
यस सन्दर्भमा रास्वपाले धेरै कुरा सिक्नुपर्ने देखिन्छ। स्थानीय तहका समस्या बुझ्न दीर्घकालीन गृहकार्य, स्थानीय नेतृत्वलाई अगाडि बढाउने साहस र स्पष्ट एजेन्डासहितको राजनीति नै यहाँ स्वीकार्य हुनेछ। नत्र भने ‘घण्टि’को आवाज गाउँमा बज्नुअघि नै कमजोर बन्ने जोखिम टार्न सकिँदैन।
दक्षिण ललितपुरको राजनीतिले अब नारा होइन, नतिजा खोजिरहेको छ। यो तथ्य नबुझे कुनै पनि नयाँ दल पुरानै गल्ती दोहोर्याउने सूचीमा सीमित हुने निश्चित छ।