ललितपुर - सूचना प्रविधिको तीव्र विकाससँगै सरकारी कामकाजमा डिजिटल प्रणालीको प्रयोग बढ्दै गएको छ। तर ललितपुरको बागमती गाउँपालिकामा भने अझै पुरानै पद्धति अपनाइँदै आएको देखिएको छ। पालिकाले अझै पनि २०७५ सालमा डिजाइन गरिएको पुरानो लेटरहेडमै काम चलाइरहेको छ, हरेक सरकारी कामकाजमा चुच्चे नक्सासहितको निसानी छाप प्रयोग हुँदै आईरहेको छ तर बागमती गाउँपलिकाले भने साविककै नक्सा र लेटर हेड प्रयोग गरिरहेको स्थानीयवासी र सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले जनाएका छन्।
बागमती प्रदेश सरकारले केही वर्ष अघि नै कार्यालयीय कामकाजमा मातृभाषा समावेशीता सुनिश्चित गर्ने उद्देश्यले तामाङ भाषा लगायतका स्थानीय भाषालाई आधिकारिक दस्तावेजमा प्रयोग गर्न अनुमति दिएको थियो। तर, बागमती गाउँपालिकाले उक्त निर्णय कार्यान्वयन गर्न कुनै ठोस पहल नगरेको देखिन्छ। तामाङ भाषा प्रयोगका लागि विशेष अनुमति दिइए पनि पालिकाले अझैसम्म नेपाली भाषामै मात्र लेटरहेड जारी गर्दै आएको छ।

कार्यबिधी बनिसकेको र नयाँ निसानी छाप सहित लेटर हेडबाट काम सुरु गरिएको सुचना अधिकृत मिलन शर्माले बताएका छन।तर ब्यबहारिक रुपमा भने कहि कतै पनि चुच्चे नक्सासहितको लेटर्हेड भेटिदैन।
यस विषयमा सामाजिक संञ्जालमा तीव्र प्रतिक्रिया देखिएको छ। "२०८१ सालमा पनि २०७५ को लेटरहेड प्रयोग गर्नु भनेको प्रविधिसँगको तिरस्कार हो," एक स्थानीयले सामाजिक सञ्जालमा लेखेका छन्। उनले पालिकाले जनताको चाहना र युगको माग अनुसार काम गर्नुपर्नेमा जोड दिएका छन्।

यद्यपि पालिकाको वडा नं ६ अन्तर्गत भने तामाङ भाषाको प्रयोग सुरु गरिएको छ। यो वडा पहिलोपटक तामाङ भाषामा सेवा सुरु गर्ने वडाको रूपमा चिनिएको छ। वडाध्यक्ष नारायण बोम्जनको अगुवाइमा लेटरहेडमा तामाङ भाषा समावेश गरेर केही सिफारिस पत्रहरु जारी गरिएका छन्। यो प्रयासले अन्य वडाहरू र मुख्य प्रशासनिक निकायलाई पनि सकारात्मक सन्देश दिने अपेक्षा गरिएको छ।
स्थानीय बुद्धिजीवी र नागरिक अभियन्ताहरूले अब पालिकाले यथाशीघ्र पुरानो प्रणाली परित्याग गरी प्रविधिमैत्री र भाषिक समावेशी नीति अवलम्बन गर्नुपर्ने माग गरेका छन्। आधुनिक युगमा पुरानो ढर्रामा सीमित रहनु विकासको बाधक बन्ने उनीहरूको भनाइ छ।
