ललितपुर – बागमती गाउँपालिका अन्तर्गतका विभिन्न विद्यालयहरूको २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (SEE) को नतिजा सार्वजनिक भएको छ। गाउँपालिकाका ९ वटा विद्यालयहरूबाट सहभागी भएका कुल १९२ जना विद्यार्थीमध्ये १३६ जना मात्रै ग्रेड हासिल गर्न सफल भएका छन्।
कालिदेवी माध्यमिक विद्यालय, प्युटारले सबैभन्दा राम्रो प्रदर्शन गरेको छ। उक्त विद्यालयबाट सहभागी २७ जना विद्यार्थीमध्ये २५ जनाले ग्रेड प्राप्त गर्दै ९३ प्रतिशत सफलता हासिल गरेका छन्। त्यसैगरी, नारायणी माध्यमिक विद्यालय (८१%), सारदा शिक्षासदन (६३%), बिद्ध्याधेश्वरि माध्यमिक विद्यालय (८५%) र जनक माध्यमिक विद्यालय (८६%) ले पनि उल्लेखनीय नतिजा दिएका छन्।
यसबाहेक कालिदेवी माध्यमिक विद्यालय, माल्टाले ७२ प्रतिशत सफलता, घुसेल माध्यमिक विद्यालयले ५२ प्रतिशत, जनजागृति माध्यमिक विद्यालयले ५० प्रतिशत नतिजा दिएका छन्।
सबैभन्दा कमजोर प्रदर्शन भने महाकालिदेवी माध्यमिक विद्यालयले गरेको देखिएको छ। उक्त विद्यालयका १९ जना विद्यार्थीमध्ये केवल ४ जनाले मात्र ग्रेड प्राप्त गर्न सकेका छन्, जुन जम्मा २१ प्रतिशत हो।
गाउँपालिका स्तरमा हेर्दा कुल ७१ प्रतिशत विद्यार्थीले मात्र ग्रेड हासिल गर्न सकेका छन्। यसले ग्रामीण क्षेत्रका विद्यालयहरूको गुणस्तर र आवश्यक शैक्षिक सुधारको खाँचो औंल्याएको छ।
स्थानीय तह, विद्यालय प्रशासन र अभिभावकहरूबीच समन्वय गरी शिक्षाको गुणस्तर सुधारतर्फ कदम चाल्न आवश्यक देखिएको छ।