ललितपुर - सामुदायिक विद्यालयका शिक्षकहरुले विभिन्न माग राखी २७ दिनदेखि जारी राखेको आन्दोलनका कारण विद्यालय भर्ना तथा पठनपाठन कार्यहरु प्रभावित भएका छन्। यसैबीच, अभिभावकहरुले आफ्ना सन्तानको शिक्षामा बाधा पुगेको भन्दै चर्को गुनासो गर्दै आएका छन्।
विद्यार्थीहरुको पढ्ने अधिकार सुनिश्चित गर्न, सर्वोच्च अदालतले मिति २०८२/०१/११ गते आदेश जारी गर्दै तीन दिनभित्र आन्दोलनरत शिक्षकहरुलाई नियमित पठनपाठनमा फर्काउने वातावरण सुनिश्चित गर्न निर्देशन दिएको छ। नेपालको संविधानको धारा ३१ मा शिक्षालाई मौलिक हकका रूपमा व्यवस्था गरिएको सन्दर्भमा विद्यार्थीहरु शिक्षाबाट बञ्चित हुनु नहुने सर्वोच्चको आदेशमा उल्लेख गरिएको छ।
यसै आधारमा, सम्बन्धित गाउँपालिकाले आफ्नो क्षेत्रभित्रका सम्पूर्ण विद्यालयहरुलाई मिति २०८२/०१/१६ गतेदेखि नियमित रुपमा सञ्चालन गर्नु तथा गराउनु पर्ने निर्देशन दिएको छ।
गाउँपालिका कार्यालयद्वारा जारी सूचनामा भनिएको छ, "विद्यार्थीहरुको भविष्यलाई मध्यनजर गर्दै अविलम्ब विद्यालय सञ्चालन गरिनुपर्नेछ। सबै शिक्षक तथा विद्यालय प्रशासनलाई सो निर्देशन पालना गर्न अनुरोध गरिन्छ।"
उता, आन्दोलनरत शिक्षकहरुले भने आफ्ना जायज माग पुरा नभएसम्म आन्दोलन नरोकिने अडान राख्दै आएका छन्। तथापि, अदालतको आदेश र स्थानीय तहको दबाबसँगै शिक्षा क्षेत्र पुनः नियमिततर्फ फर्किने अपेक्षा गरिएको छ।
सम्बन्धित पक्षहरुबीच सकारात्मक संवाद भई समस्या समाधान हुने विश्वास अभिभावकहरुले व्यक्त गरेका छन्।