रामेछाप - सन् २००५ मा कतारमा ‘परिवर्तन, शैक्षिक तथा आर्थिक सुदृढिकरण’ भन्ने मूल नाराका साथ स्थापित नेपाल प्रवासी तामाङ समाज कतारको आधिकारिक संस्था “तामाङ समाज नेपाल” बि.स. २०७६ मा काठमाडौँमा विधिवत रूपमा दर्ता भई अहिले देशभर सामाजिक कार्यमा सक्रिय छ। ललितपुरमा पहिलो जिल्ला शाखा गठन गरेपछि संस्थाले असार १४ गते शनिबार रामेछापमा दोस्रो शाखा विस्तार गर्दै थप मजबुत उपस्थिति जनाएको हो।
रामेछाप शाखा उद्घाटन कार्यक्रममा तामाङ समाज नेपालका अध्यक्ष कमल योञ्जन तामाङले देशभर तामाङ समुदायका लामा, ताम्बा, गान्बा, कलाकार, बुद्धिजीवी, खेलाडी र विविध क्षेत्रका प्रतिनिधिहरूलाई एकजुट गर्दै समुदायको विकास र पहिचान सुदृढ गर्ने उद्देश्य रहेको बताए। उनले देश–विदेशमा रहेका सम्पूर्ण तामाङहरूलाई यस अभियानमा जोडिन पनि आग्रह गरे।
समाजकी कोषाध्यक्ष सोनी लुङ्बा तामाङले कार्यक्रममा महिला सहभागिताको कमीप्रति चिन्ता व्यक्त गर्दै अबको दिनमा महिलाहरूको सक्रिय सहभागिता बढाउनुपर्नेमा जोड दिइन्। तामाङ महिलाहरू घरायसी काममा मात्र सीमित नरही समाजको नेतृत्व तहमा पुग्न सक्ने विश्वास व्यक्त गरिन्।
उपाध्यक्ष अशोक सिङ्तान तामाङले विगतका सफलताहरू स्मरण गर्दै सामाजिक सेवामा निरन्तरता दिने प्रतिबद्धता जनाए। त्यस्तै, छिमेकी मार्टका अध्यक्ष नर बहादुर तामाङले तामाङ समुदायको सामाजिक, आर्थिक र राजनीतिक सशक्तिकरण एकता र सहकार्यबाट मात्र सम्भव हुने धारणा राखे।
कार्यक्रममा रामेछाप जिल्लाका विभिन्न राजनीतिक दलका नेताहरू, समाजसेवी, सामाजिक अभियन्ताहरूको बाक्लो उपस्थिति रहेको थियो। उनीहरूले तामाङ समाजको सांस्कृतिक धरोहर, भाषा, धर्म र पहिचानलाई जगेर्ना गर्दै समाजको विकासमा सहकार्य गर्न प्रतिबद्धता व्यक्त गरे।
यस घोषणासभाबाट रामेछाप जिल्ला शाखाको १७ सदस्यीय कार्यसमिति गठन गरिएको छ। जसमा अध्यक्षमा कृपाश्वर घिसिङ तामाङ, प्रथम उपाध्यक्ष काजिमान घिसिङ, द्वितीय उपाध्यक्ष अमर बिरही थिङ, महिला उपाध्यक्ष हिरा तामाङ, सचिव नेरुता मोक्तान, सह–सचिव हेमन्त घिसिङ, कोषाध्यक्ष तिर्थ बहादुर तामाङ, सह–कोषाध्यक्ष नवीन कुमार तामाङ रहेका छन्। अन्य सदस्यहरूमा मनिषा लो तामाङ, श्याम मोक्तान, अमिर घिसिङ, मान बहादुर तामाङ, जनक दोङ तामाङ, कविता थोकर तामाङ, चेत बहादुर तामाङ लगायत छन्।
रामेछाप शाखामा प्रमुख सल्लाहकार तथा विशेष सल्लाहकारको पनि चयन गरिएको छ। विशेषत: यस समितिले रामेछाप जिल्लामा करिब ९० प्रतिशतभन्दा बढी तामाङ समुदायको प्रतिनिधित्व गर्ने दाबी गरिएको छ।
नव–निर्वाचित अध्यक्ष कृपाश्वर घिसिङ तामाङले तामाङ समुदायको पहिचान, शैक्षिक र आर्थिक उन्नयनलाई प्राथमिकतामा राख्दै जिल्लाका प्रत्येक तामाङ बस्तीमा पुगेर समाजको उद्देश्य कार्यान्वयन गर्ने अठोट व्यक्त गरे।
रामेछापमा शाखा स्थापना भएसँगै तामाङ समाज नेपालले अब तेस्रो जिल्लाको तयारी पनि तीव्र बनाएको छ। संस्थाले यो कदमले तामाङ समुदायलाई अझ एकताबद्ध बनाउँदै सामाजिक रूपान्तरणतर्फ बलियो भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ।