ललितपुर - नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का पूर्व केन्द्रीय समिति सदस्य तथा ललितपुरका सरल, निष्ठावान र क्रान्तिकारी नेताका रूपमा परिचित पुरुषोत्तम बिष्ट ‘उत्तम’ को क्यान्सर रोगका कारण असामयिक निधन भएको छ।
ललितपुरको गोदावरी नगरपालिका–१३, झरुवारासी स्थायी ठेगाना भएका बिष्ट केही समयदेखि क्यान्सर रोगबाट पीडित भई उपचाररत रहनुभएको थियो। उपचारकै क्रममा उहाँको २०८२ मङ्सिर २३ गते निधन भएको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ललितपुर जिल्ला समितिले जारी गरेको शोक वक्तव्यमा उल्लेख गरिएको छ।
बिष्टले २०५६/०५७ सालदेखि तत्कालीन नेकपा (माओवादी) द्वारा सञ्चालित जनयुद्धमा भूमिगत भई पार्टी तथा किसान सङ्गठनको जिम्मेवारी सम्हाल्दै क्रान्तिकारी आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो। जनयुद्धकालमै सेनाको गिरफ्तारीमा परेर उहाँले चरम यातना र कष्टपूर्ण जेल जीवनसमेत बिताउनुभएको थियो।
प्रचण्ड नेतृत्वको तत्कालीन माओवादीसँग वैचारिक मतभेद उत्पन्न भएपछि उहाँ २०६९ सालमा त्यहाँबाट विद्रोह गर्दै मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा–माओवादीमा सङ्गठित भई केन्द्रीय सल्लाहकारको जिम्मेवारीमा रहनुभएको थियो। त्यसपछि २०७१ सालमा विप्लव नेतृत्वमा नेकपा पुनर्गठन हुँदा उहाँ केन्द्रीय सदस्यका रूपमा पार्टीका विभिन्न जिम्मेवारीमा सक्रिय रहनुभयो। २०७८ सालदेखि भने विभिन्न कारणले पार्टी जिम्मेवारीबाट निष्क्रिय रहँदै पनि क्रान्तिकारी आन्दोलनको समर्थन गर्दै आउनुभएको थियो।
इमान्दार, सरल, निष्ठावान, सादगीपूर्ण र जनप्रेमी नेताको छवि बनाएका बिष्ट परिवर्तन र क्रान्तिको पक्षमा दृढ प्रतिबद्ध रहँदै क्रान्तिकारीहरूका लागि प्रेरणाको स्रोत बनेर रहनुभएको नेताका रूपमा चिनिनुहुन्थ्यो।
उहाँको निधनले ललितपुर जिल्लाको कम्युनिस्ट आन्दोलन तथा सामाजिक रूपान्तरणको अभियानले एक असल र समर्पित नेता गुमाएको शोक वक्तव्यमा उल्लेख छ। पार्टीले दिवंगत नेता बिष्टप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ।
