ललितपुर -बागमती गाउँपालिकाको आयोजनामा ताम्बा (म्रावाइसिंगे) प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सुरु भएको छ।जेठ १ गतेदेखि तीन दिनसम्म चल्ने कार्यक्रममा पालिका भित्रको सात वटै वडाहरुको ताम्बा हरुलाई प्रशिक्षण गरिने छ।
कार्याक्रमको पहिलो दिन उदघाटन सत्र रहेको थियो। कार्यक्रमको सभापतित्व वडा नम्बर ४ का अध्यक्ष रामकुमार लामाले गर्नु भएको थियो भने प्रमुख अतिथिका रूपमा गाउँपालिका अध्यक्ष वीर बहादुर लोप्चन, विशिष्ट अतिथि प्रमुख प्रशासकीय अधिकृत बालकृष्ण थापा तथा विशेष अतिथिका रूपमा विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमको दोस्रो दिन पालिकाका सातै वडाबाट तीन–तीन जना ताम्बाहरूको सहभागितामा बन्द सत्र सञ्चालन गरिने छ। सो अवसरमा सहभागी ताम्बाहरुलाई तामाङ समुदायको मौलिक बाजा डम्फु वितरण गरिने छ। बन्द सत्रमा संस्कृति संरक्षण, भाषाको प्रवर्द्धन, तथा ताम्बा परम्पराको निरन्तरताबारे गहन छलफल हुने आयोजकले जानकारी गराएका छन।
तामाङ संघका केन्द्रीय सल्लाहकार कपिल बहादुर लामाले कार्यक्रमलाई सम्बोधन गर्दै तामाङ मात्र नभई खस आर्य समुदायको पनि मौलिक संस्कृति हराउँदै गएकोप्रति चिन्ता व्यक्त गर्नुभयो। उहाँले सम्पूर्ण जातजातिको मौलिक संस्कृति जोगाउन सबै नेपालीको साझा जिम्मेवारी भएको कुरामा जोड दिनुभयो।
गाउँपालिका अध्यक्ष वीर बहादुर लोप्चनले ताम्बाहरूबीचको घमण्ड र एकरूपताको कमीका कारण तामाङ समुदाय पछाडि परेको उल्लेख गर्नुभयो। उहाँले समुदायको एकता र संस्कृतिको संरक्षणका लागि यस्ता कार्यक्रम आवश्यक रहेको स्पष्ट पार्नुभयो। यस कार्यक्रममार्फत ताम्बा संस्कार र ज्ञानको आदान–प्रदानले समुदायमा नयाँ ऊर्जा थपिएको बताउनुभयो।
कार्यक्रमका सभापति तथा वडा नं. ४ का अध्यक्ष रामकुमार लामाले तामाङ भाषा र संस्कृतिको पहिचान जोगाउन यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा वडा अध्यक्षहरू ज्ञ्यानबहादुर लो, नारायण भोम्जन, होमप्रसाद बजगाईं लगायत तामाङ भाषा र संस्कृति सम्बन्धी जानकारी राख्ने व्यक्तिहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।
यस कार्यक्रमले तामाङ समुदायमा संस्कृतिक चेतना अभिवृद्धि गर्नुका साथै नयाँ पुस्तालाई आफ्नै भाषा, भेषभूषा, र परम्पराको मूल्य बुझाउन सहयोग पुर्याउने सहभागीहरूले बताएका छन्।