ललितपुर - बागमती गाउँपालिकाको आयोजनामा तीन दिने ‘ताम्बा (म्रावाइसिंगे) प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। गाउँपालिका–४ स्थित कालीदेवी माध्यमिक विद्यालयको सभा हलमा ज्येष्ठ १, २ र ३ गतेसम्म सञ्चालित कार्यक्रम पालिका भित्रका सातै वडाका ताम्बाहरूको सहभागितामा सम्पन्न भएको हो।
तामाङ समुदायको मौलिक संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा ताम्बा परम्परा, भाषा, धर्म, संस्कार र सांस्कृतिक पहिचानका विविध पक्षमा प्रशिक्षण तथा गहन अन्तरक्रिया भएको थियो। तामाङ संस्कृतिमा ताम्बालाई इतिहास, धर्म र प्रकृतिसँग जोडिएको जीवन्त परम्पराका रूपमा लिइन्छ।
गाउँपालिका अध्यक्ष वीरबहादुर लोप्चनले समापन समारोहमा सम्बोधन गर्दै ताम्बाहरूबीचको एकरूपता र सहकार्यको आवश्यकता औँल्याउँदै ‘ताम्बा दस्ताबेज पुस्तक’ प्रकाशन गरिने प्रतिबद्धता जनाउनुभयो। उहाँले प्रशिक्षणमा उठेका बुँदालाई आधार बनाएर साझा ढाँचा निर्माण गरिने पनि बताउनुभयो।
कार्यक्रमका विशेष अतिथि उपाध्यक्ष दर्लामीले ताम्बा संस्कारको सुदृढीकरणबाट तामाङ समुदायको पहिचान झनै मजबुत हुने उल्लेख गर्नुभयो। माल्टा वडा–२ का अध्यक्ष रामबहादुर ब्लोनले समुदायभित्रको एकता बिना बाह्य दोषारोपण उचित नहुने धारणा राख्नुभयो।
समापन समारोह वडा नं. ४ का अध्यक्ष रामकुमार लामाको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा ‘ताम्बा सङ्घ’ गठन गरिएको छ जसको अध्यक्ष चन्द्र बहादुर घलान चयन हुनु भएको छ। सङ्घको उद्देश्य ताम्बा परम्परालाई संस्थागत बनाउँदै भविष्यमा थप अध्ययन, दस्तावेजीकरण र संरक्षणको दिशामा काम गर्ने रहेको छ।