बागमती गाउँपालिका वडा नम्बर ४, प्युटारस्थित खयरघारी क्षेत्रीय खेल मैदानमा सम्पन्न दोस्रो वडा अध्यक्ष कप फुटबल प्रतियोगिता सफलता पूर्वक सम्पन्न भएको छ। "स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद" भन्ने मूल नाराका साथ माघ ५ गते शनिबारदेखि सुरु भई माघ ७ गते सोमबार सम्पन्न उक्त प्रतियोगिताको आयोजनामा बागमती गाउँपालिका वडा नम्बर ४ र छोर्गे युवा क्लबको समन्वय थियो।
साविकका नौ वडामा आधारित प्रतियोगितामा वडा भित्रका ६ टिमले सहभागिता जनाएका थिए। प्युटार फुटबल टिम ‘ए’ र ‘बी’, सिम्ले फुटबल टिम, देउराली फुटबल टिम, खैरेनी फुटबल टिम र खयरघारी फुटबल टिमले खेल प्रदर्शन गरेका थिए।
प्रतियोगिताको उपाधि खैरेनी फुटबल टिमले जित्दै प्रथम स्थान हासिल गर्यो। खयरघारी फुटबल टिम दोस्रो स्थानमा रह्यो भने देउराली फुटबल टिमले तेस्रो स्थान प्राप्त गर्यो। विजयी टिमलाई क्रमशः २५,०००, १५,००० र ७,५०० रुपैयाँ नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरियो। प्रतियोगिताका उत्कृष्ट गोलरक्षकको रुपमा आसीस भोम्जन घोषित भए।
कार्यक्रमका प्रमुख अतिथि बागमती गाउँपालिका अध्यक्ष वीरबहादुर लोप्चनले प्युटारको खेलमैदानलाई मिनी रंगशालाका रुपमा विकास गर्ने योजना रहेको बताए। उनले मैदानको केही प्राविधिक समस्या भए पनि आगामी दिनमा सबैको सल्लाहमा समस्याको समाधान गर्दै रंगशालालाई व्यवस्थित बनाउने प्रतिबद्धता व्यक्त गरे।
विशेष अतिथि नेपाली कांग्रेसका पूर्व आमन्त्रित केन्द्रीय सदस्य कवेल बहादुर लामाले खेलाडीहरूको मनोबल उच्च राख्न र रंगशालाको विकासमा ध्यान दिन सुझाव दिए।
प्रतियोगिताले विभिन्न उमेर समूहका खेलाडीहरूको छनोट गर्न योगदान गरेको जनाइएको छ। रेफ्री यम बहादुर सुनुवारले वडा स्तरमै राम्रो प्रशिक्षणको अभावका कारण खेलाडीहरू माथिल्लो तहमा पुग्न नसकेको गुनासो व्यक्त गरे। उनले खेलाडी उत्पादन र प्रशिक्षणको लागि वडाले थप पहल गर्नुपर्ने आवश्यकता औंल्याए।
समापन कार्यक्रममा बागमती गाउँपालिकाका उपाध्यक्ष झक्तबहादुर दर्लामी मगर, वडा अध्यक्ष रामकुमार लामा, र अन्य विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो। छोर्गे युवा क्लबका अध्यक्ष कृष्णबहादुर घलनले सबै उमेर समूहका खेलाडीलाई अवसर दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको र यो प्रतियोगिताले भविष्यका लागि खेलाडी उत्पादनमा महत्त्वपूर्ण भूमिका खेल्ने बताए।
कार्यक्रममा वडाले छिट्टै पालिका स्तरीय फुटबल प्रतियोगिताको तयारी गरिरहेको जानकारी गराइएको छ। वडाले सबै खेलाडीलाई तयारी अवस्थामा रहन अनुरोध गर्दै नियमित अभ्यास र प्रशिक्षणलाई प्राथमिकतामा राखेको उल्लेख गरेको छ।
यसरी, वडा नम्बर ४ प्युटारमा आयोजित दोस्रो वडा अध्यक्ष कपले स्थानीय खेलकुदको विकास र खेलाडी उत्पादनको दिशामा महत्वपूर्ण योगदान पुर्याएको छ।